logo

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री पुनबीच छलफल, बहुदर भ्याट प्रणालीमा जान परिसंघको सुझाव, ‘सरकारको प्राथमिकता उद्यमीलाई तर्साउने होइन प्रोत्साहन गर्ने हो’ः मन्त्री पुन

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री पुनबीच छलफल, बहुदर भ्याट प्रणालीमा जान परिसंघको सुझाव, ‘सरकारको प्राथमिकता उद्यमीलाई तर्साउने होइन प्रोत्साहन गर्ने हो’ः मन्त्री पुन  
काठमाडौं । 
नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ । 
अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउनुहुँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिबृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्नुहुँदै बहुदर भ्याट प्रणालीमा जान आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई ‘डिक्रिमिनलाइज्ड्’ गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताउनुभयो ।  प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिनुभएको भन्नुहुँदै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागू गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन” मन्त्री पुनले भन्नुभयो । 
अर्थतन्त्र केही दबाबमा रहेको भन्नुहुँदै निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिइ बजारलाई चलायमान बनाउन ३०÷४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उहाँले बताउनुभयो । बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रुपमा लिनुहुँदै उहाँले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रुपमा छलफल गर्ने बताउनुभयो । 
सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, पदाधिकारिमा स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गर्भनिङ्ग काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपक राज जोशीलगायत सहभागि हुनुहुन्थ्यो । 
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP