logo

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’ः उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन, ‘सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा छ’ः उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल

काठमाडौं । 
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ । प्रदेश च्याप्टरको आज भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्नुहुँदै सरकारले थप भूमिकाको आशा गरेको बताउनुभयो । उहाँले गतिशिल समय र तीब्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरुलाई सुझाव दिनुभयो । उहाँले सरकार सम्पूर्ण रुपमा उद्यमीहरुको साथमा रहेको भन्नुहुँदै देश हामीले बनाउने हो, हामीले बनाउँछौं भन्ने सन्देश युवाहरुमा पुर्याउन उद्यमीहरुलाई आग्रह गर्नुभयो ।  

अर्थमन्त्री पौडेलले औषत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताउनुभयो । उहाँले सरकारले विगतदेखिका समस्या गर्न, निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । हाल सुधार गरिएको कानुनमा सुधार मात्रै रहेको उहाँले बताउनुभयो । सुधारको काम, अनुकूल व्यवसायिक वातावरण थप बढाउँदै लैजाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरुलाई उद्यमशील बनाउन नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउनुहुँदै उहाँले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गर्नुभयो । “विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यमी बनाउन हौसला प्रदान गर्न आवश्यक छ” उहाँले भन्नुभयो, “सरकारले आगामी बजेटमार्फत युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिने विश्वास लिएको छु ।”
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले सरकारले युवाहरुलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुरुप नीति बनाएको र बनाउने क्रममा रहेको बताउनुभयो । उहाँले कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवाहरुलाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको बताउनुभयो । 

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायनता बढिरहेको बेलामा देशभित्रै केही गर्नुपर्छ भनेर यही उद्यमी बन्ने युवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उद्योग व्यवसाय ओरालो लागिरहेको, निराशा बढिरहेको र थोरै भएपनि उद्योगी व्यवसायीहरु समेत पलायन हुने अवस्था सिर्जना हुनु निकै चिन्ताको विषय रहेको बताउनुभयो । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने भन्नुहुँदै युवाहरुलाई प्रोत्साहनका खाँचो रहेको बताउनुभयो । उहाँले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पु¥याउने संकल्पका साथ युवाहरु अघि बढ्न चाहेको बताउनुभयो । युवाहरुलाई नीतिबाट प्रोत्साहन गर्ने हो भने देशभित्र धेरै अवसर रहेकाले युवा देशमै बसेर केही गर्न सक्ने उहाँको भनाई थियो । 
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहनुभएको छ । 
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रबद्र्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुरुपका गतिविधि समेत गर्दै आएको छ । 
 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP